जनकपुर, ३१ वैशाख-एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएपछि पर्सामा मंगलबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राती ८ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञापछि अहिले पर्सा सुनसान देखिएको छ ।
लकडाउनका बाबजुद पनि कोरोनाको संक्रमण फैलने क्रम नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा पनि जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । मंगलबार बेलुकी ८ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी पर्सामा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिभर पर्सामा रहेका औषधि पसल बाहेकका अन्य सबै पसल, उद्योग कलकारखाना बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रयोग गर्नेबाहेक अन्य सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।