विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् ।
दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवालाई सोमबार राति भारतीय सुरक्षाकर्मीले नेपाल पठाएका हुन् । यसरी नेपाल छिरेका मोरङका २, झापाका ४ र सुनसरीका ९ जनालाई विराटनगर १६ स्थित हुलास मेटल चौकमा रोकेर राखिएको छ।
नेपाल प्रवेश गरेका २० देखि ३० वर्ष उमेरका युवा कसरी नेपाल प्रवेश गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
नेपाल प्रवेश गरेकाहरू सुनसरीको गढी गाँउपालिकाका ५ जना, इटहरीका २, इनरुवा र धरानका १/१, झापा शिवसताक्षीका २, कन्काइका २, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका १/१ जना छन् । युवालाई भारतीय सुरक्षाकर्मीले नै नेपाल छिराइदिएकाले उनीहरूको स्वास्थ्य परीक्षण गरी घर पठाउनुपर्ने देखिएको प्रहरीले जनाएको छ ।