तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनले आफूले बुबाआमाको हत्या गरेको भनेर १ सय नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि ४ किलोमिटर दूरीमा पर्छ ।
कञ्चनले १ सय नम्बरमा फोनसँगै प्रहरीले उसलाई पछ्याएको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका ७ महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेकी वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।