काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब ४१ अर्ब ऋणको किस्ता भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताए ।
उनले निर्माण क्षेत्रका लागि पनि पुर्नकर्जाको सुविधा नदिए बैंकिङ क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा नै समस्या आउन सक्ने र आगामी चैत सम्म कर्जाको किस्ता तिर्न समेत नसक्ने बताए ।
सिंहले अर्थतन्त्रमा कृषि पछिको योगदान पूर्वाधार क्षेत्रको रहकोले सरकारले बजेट मार्फत पूर्वाधारका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताए । उनले त्यसमा पनि स्थानीय पूर्वाधारको विकासका लागि जोड दिनुपर्ने बताए ।
निर्माण व्यवसायीहरुले यो वर्ष विकास खर्चको ५० प्रतिशत मात्रै काम गर्न सकिने बताएका छन् । हालसम्म गरेको कामको ५० प्रतिशत भुक्तानी निकास भएको र बाकीँ ५० प्रतिशत निकास हुन बाकीँ रहेको बताएका छन् ।