काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ । प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो । तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेपछि अलगै बस्दै आएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरु भएको फेसबुकबाट जानकारी दिएका छन् । उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ भन्ने उल्लेख गरेका छन् । उनले फरक तीन तस्वीर फेसबुकमा राख्दै ‘नेकपा सचिवालय बैठक, नयाँ बसाइको व्यवस्थापन साथ’ क्याप्सन लेखेका छन् ।