बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्लाको बिषयमा ८ वटा निर्णय गरेको थियो ।जसमा आफ्ना नागरिक जहाँ बसेका छन् त्यहाँ अप्ठ्यारोमा परेका भए राहतको व्यवस्था मिलाउने तर जिल्लामा ल्याउन नसकिने निर्णय पनि गरिएको थियो । निर्णयपछि जिल्ला भित्रिने मानिसको संख्या रोकिनुको साटो झन् बढेको छ ।
व्यवस्थापन केन्द्रले निर्णय गरेको दिन जिल्ला भरका क्वारेन्टाइनमा ८ जना मात्र थिए । तर, बुधबार बेलुकासम्म त्यो संख्या बढेर ३ सय पुगेको छ । संख्या वृद्धिसँगै जिल्लामा कोरोनाको जोखिम पनि बढेको छ ।