काठमाडौं, ११ वैशाख-समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफूहरूले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।
बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे ।
‘मैले चार दिन अगावै भनेको थिए पार्टीमा मत भिन्नता छ । विवादहरू छन्’ उनले भने, ‘तर हामीभन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए त्यो कुरा अहिले पनि छ ।’
उनले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफूले थाहा पाउन नसकेको समेत बताए । उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले संघर्ष गरिरहेका शक्तिहरू एकठाउँमा आउनु खुशीको कुरा भएको समेत बताए ।