काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन थालेका छन् ।
व्यवसायी दीपक मलहोत्राले पनि मास्क उत्पादन सुरू गर्दै छन् । त्यति मात्र नभएर अहिले स–साना व्यवसाय गर्दै आएका तथा कपडा सिलाइ गरी व्यवसाय गर्नेहरूले पनि मास्क बनाउन थालेका छन् । सर्जिकल मास्कको अभाव भएसँगै सर्जिकल मास्कजस्तै देखिने मास्कहरू बजारमा अहिले छ्यापछ्याप्ती भेटिन थालेका हुन् । यस्ता मास्कहरू हेर्दा उस्तै देखिए पनि गुणस्तर भने सर्जिकल मास्कको जस्तो नहुने विज्ञहरू बताउँछन् ।