विराटनगर, फागुन ८–मोरङको बुढीगंगामा स्त्रीरोग संवन्धि दक्षिण एशियाली सम्मेलन हुने भएको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था (नेसोग) पुर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा युरोगाईनोकोलोजी संवन्धि सातौं अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो ।
आगामी फागुन ९ र १० गते विराट मेडिकल कलेजको प्राङ्गणमा हुने अन्तराष्ट्रिय सम्मेलनमा १ सय ५० जना बरिष्ठ विशेषज्ञ चिकित्सकको सहभागिता रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले जानकारी दिए । सम्मेलनमा सहभागि बरिष्ठ चिकित्सकले स्त्री रोग संवन्धि समस्या भएका २० जनाको जटिल शल्यक्रिया गरिने उनले बताए ।
सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाईरहेका बेला मेडिकल टुरिजमको विकासका लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । स्त्री रोग संवन्धि जटिल शल्यक्रियाका लागि प्रदेश १ र २ बाट आवेदन आएको उनले जानकारी दिए । युरोगाईनोकोलोजी संवन्धि दक्षिण एशियाली महासंघ दक्षिण एशियाली मुलुकका स्त्रीरोग संवन्धि जसमा महिलाको तल्लो पेट, प्रजजन तथा पिसावसँग संवन्धित अंग र अविकसित अंगको पुनसंरचनाको क्षेत्रमा कार्यगर्ने विशेषज्ञ चिकित्सकहरुको संगठित संस्था भएको विराट मेडिकल कलेजका अध्यक्ष डा.कार्कीले बताए ।
अन्तराष्ट्रिय सम्मेलनमा भारत गुजरातका बरिष्ठ चिकित्सक डा.विनित मिश्रा सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, बेलायत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, सिंगापुरका बरिष्ठ चिकित्सकको सहभागिता रहने विराट मेडिकल कलेज टिचिङ हस्पिटलका उपाध्यक्ष डेनिश कार्कीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा हुने सम्मेलन फागुन १० गते प्रतिबद्धता सहितको पत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ ।