विराटनगर /कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गरेका छन् ।
उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् ।
तत्कालिन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णय अनुसार असोज २५ गते प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड ‘अ’ बमोजिम बस्नेतलाई प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदमा नियुक्त गरिएको थियो ।
चार वर्षीय कार्यकालका लागि नियुक्त भएका बस्नेतलाई परिवर्तित सत्तासमिकरणपछि २०७८ चैत २२ मा पदबाट हटाइएको पत्र थमाइएको थियो । उक्त निर्णय विरुद्ध अदालत पुगेका बस्नेतको निवेदन माथि अदालतले परमादेश जारी गर्दै बस्नेतलाई सदस्य सचिवको रुपमा काम काज गर्न दिनु, वाधा अवरोध नगर्नु भनि परमादेश गरेको हो । तत्कालिन प्रदेश सरकारले बस्नेतलाई हटाउँदै हंसराज वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । अदालतको आदेशसँगै पदभार ग्रहण गरेका बस्नेतले अदालतले त्रुटि सच्याएर विधिको शासनको प्रत्याभूति गराएको बताए।
उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्कालिन भीम आचार्य नेतृत्वको सरकारले आफूलाई संस्थापक सदस्यसचिवको रुपमा नियुक्त गरेपनि त्यसपछिको सरकारले प्रतिशोध राख्दै हटाएपनि त्यसलाई अदालतले सच्याउने काम गरेको बताए। उनले अदालतलेको आदेश पालना गर्दै आफूले आजबाट पदभार ग्रहण गर्दै कामकाज सुरु गरेको बताए।
उनले आफु पदमा रहँदासम्म खेलाडीको मनोबल उच्च बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने तथा पूराना खेलाडीको सम्मान गर्ने बताए। खेलाडीलाई खेलेर बाँच्न सक्ने वातावरण बनाउन प्रयत्नशिल रहने बताउँदै बस्नेतले खेलाडी राष्ट्रको गहना नभई गौरव हो भन्ने मान्यता स्थापित गर्न लागिपर्ने बताए। उनले भने ,‘म यो कुर्सिमा रहुन्जेल कुनै लोभलालच नराखी खेलाडी र खेलक्षेत्रको विकासमा लाग्नेछु ।’