विराटनगर । झापाको सीमावर्ती नाकाबाट प्रहरीको संरक्षणमा तस्करी हुने गरेको पाइएको छ ।
सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटना बाहिर आएको हो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गरेपछि तस्करीको रहस्य बाहिर आएको छ । फुजि स्याउसहितको गाडी लोदावारि नाकाबाट कादोगाउँ हुँदै भारत लैजाने तयारी थियो । दुई वटा गाडीमा स्याउ लोड गरिएको थियो । एउटा गाडी त्यहाँबाट सशस्त्रले भगाइदिएको बुझिएको छ ।
तस्करी हुन लागेको स्याउ कचनकवल– ४ पूर्वी लोदावारिस्थित जयनारायण साहको रहेको बुझिएको छ । प्रहरीले उनको गोदाममा ठूलो परिणामको स्याउ बरामद गरेको छ । साहको गोदाम सीमा पिलर ११८ र ११९ नजिकै पर्छ । तस्करी गर्ने उद्देश्यले साहले दशगजानकि गोदाम राखेका छन् ।
राजश्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको छ । बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआइजी अन्जली कुमार पोखरेलले जानकारी दिए ।
प्रति कार्टुन १७ सय मूल्यांकन तोकेर बुझाएको फुजि स्याउको नेपाली बजार मूल्य ४२ सयदेखि ४४ सय रुपैयाँ पर्छ ।
जिल्लाको सीमा नाकाहरूबाट भित्राइएको खाद्यान्न सामग्री समेत नछाड्ने सशस्त्र र नेपाल प्रहरीले कचनकवल नाकाबाट चाइनिज स्याउको लाइन खुलाएको यो घटनाले पुष्टि हुने गरेको छ ।
बिहार अररिया जिल्ला फारबिसगंजका फिरतोस मियाँसँग मिलेर कचनकवलका कारोबारीहरू तिलक, जब्बर, जयनारायण लगायतले स्याउको लाइन (तस्करी) चलाएको स्रोतको दाबी छ। उनीहरूले एउटा कार्टुन भारतबाट कटाए बापत २५० रुपैयाँ कमिसन लिन्थ्यो ।
उनीहरूले सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक, सीमा प्रहरी चौकी केचनाका सई ऋषिराज कोइरालासँग सेटिङ मिलाउनुका साथै जिल्ला समेतलाई लाइन खर्च बुझाएर काम गरेको स्याउ कारोबारी स्रोतकै दाबी छ ।
यता सशस्त्र डीआइजी पोखरेलले भने, ‘स्याउ तस्करीमा मिलेमतो रहेको कुरा बुझ्नमा आएको छ ।’ ‘यस बारेमा बिओपी इन्चार्जमाथि छानबिन हुन्छ,’ उनले भने, ‘छानबिनमा मिलेमतोमा भएको दोषी पाए कारबाहीको दायरमा ल्याउँछु । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले सशस्त्रले बरामद गरी स्याउ राजश्वलाई बुझाएको हामीले पनि अनुसन्धान सुरु गरेको उनले बताए ।