डा. पंकजराज नेपाल
वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक आर्या न्यूरो हस्पिटल विराटनगर
एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै ‘स्ट्रोक’ पक्षाघात अथवा ब्रेन अट्याक पनि भनिन्छ । एक्कासी मस्तिष्कमा रगत बग्ने नसामा अवरोध भयो वा नसा फुट्यो भने स्ट्रोक हुन्छ । नेपालीहरुको आयु बढ्नु र उपचारमा पनि सुविधा थपिनुले स्ट्रोकका बिरामी बढ्दै गएका छन् । चिकित्सकहरुका अनुसार ५० वर्ष माथिकालाई बढी मात्रामा देखिने यो रोग अब ४० को दशकमै वा सो भन्दा कमलाई पनि देखिन थालेको छ ।
विराटनगरस्थित आर्या न्यूरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा अस्पतालका प्रबन्ध निर्देशक डा. पंकजराज नेपालका अनुसार स्ट्रोक हुनुमा उमेर प्रमुख कारक भए पनि हाइपरटेन्सन, धुम्रपान, मद्यपान, मधुमेह, कोलोस्ट्रोल आदि जोखिम कारक रहेका छन् । डा नेपालका अनुसार ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु अथवा कम हुनाले हुन्छ । उनी प्रायः नसा ब्लक हुने ८० प्रतिशतलाई र नसा फुट्ने २० प्रतिशतमा देखिने बताउँछन् ।
केही गरी बोली लरबराएमा, एक भागको हात खुट्टा नचलेमा, बेस्सरी रिंगटा लागेमा, आँखाको दृष्टि क्षमता कमजोर भएको लक्षण देखिएमा तुरुन्त अस्पताल गइहाल्नुपर्छ ।
इस्केमिक, हेमोरेजिक र टिआइए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । स्ट्रोकका घटनामध्ये अधिकांश (करिब ८७ प्रतिशत) इस्केमिक हुने गर्छ । सन् २०१८ को सिडिसीको रिपोर्ट अनुसार ६ जनामा हरेक एक जनाको स्ट्रोकबाट मृत्यु हुने गर्दछ ।
अमेरिकामा त हरेक ४० सेकेन्डमा एकलाई स्ट्रोक हुन्छ र हरेक ४ मिनेटमा एक जनाको मृत्यु स्ट्रोककै कारण हुन्छ । ग्लोबल बर्डेन अफ डिजिज स्टडीका अनुसार स्ट्रोक विश्वमा सबैभन्दा बढी मृत्यु गराउनेमा दोस्रो नम्बरमा पर्दछ । साथै असामयिक निधन र अपांगता गराउनेमा यो तेस्रो नम्बरमा पर्दछ ।
वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका अनुसार जीवनको कुनै न कुनै मोडमा ४ जनामा १ जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैगरी वार्षिक १ करोड ५० लाख मानिसलाई स्ट्रोक हुने र ५० लाख मानिस मर्ने तथ्यांक विश्व स्वास्थ्य संगठनको छ । वर्ल्ड लाइफ एक्सपेक्टेन्सी सर्भेका अनुसार नेपालमा वार्षिक १ लाख जनसंख्यामा ८६.८७ प्रतिशत स्ट्रोकबाट मृत्यु हुने गरेको छ ।
समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।