विराटनगर, १० वैशाख । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङ र मोर्चाका अध्यक्ष सलिम अन्सारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।
लामो समयदेखि मञ्च र मोर्चा बीच चुनावी तालमेल गर्नेबारे छलफल भएको महासचिव चेम्जोङले बताउनु भएको छ । आगामी प्रदेश र संघीय चुनावमा समेत चुनावी मोर्चावन्दी वा संगठनहरुबीच एकता बारे बहस खुल्ला राख्ने समेत उनले बताए ।
मञ्च र मोर्चा बीच तीन बुँदे सहमति भएको मञ्चका लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावतीले बताएका छन् । स्थानीय तहको निर्वाचनमा मञ्चको चुनाव चिन्ह दापसहितको खुकुरीबाट मोरङको विभिन्न स्थानीय पालिकाहरुमा भाग लिने । मोर्चाबाट विजयी उम्मेद्वारहरु मोर्चाकै विधान, घोषणापत्र अनुसार युवा मोर्चाकै नामबाट कार्य गर्ने र आगामी दिनमा निरन्तर गठबन्धन र पार्टी एकतासम्मको लागि छलफल जारी राख्ने सहमति भएको मञ्चले जनाएको छ ।
सहमति हस्ताक्षर कार्यक्रममा मन्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाम्फे, उपाध्यक्ष विष्णु यक्सो, अर्थसचिव सुर्य आङबुहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो । सहमति हस्ताक्षर कार्यक्रममा मञ्चका निर्वाचन परिचालन समिति संयाेजक विष्णु यक्साेले माेर्चाका अध्यक्ष अन्सारीलाइ पार्टीकाे मनाेनयन पत्र हस्तान्तरण गरेका थिए ।