काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको छ ।
आयोगले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावका लागि मतपत्र खरिदको प्रक्रिया अघि बढाएको बताएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्माले मतपत्र खरिदका लागि विद्युतीय टेन्डर प्रक्रियामार्फत खरिद अघि बढाएको जानकारी दिए ।
आयोगले १५ फागुनभित्र न्यायपरिषद्सँग परामर्श गरी जिल्ला न्यायाधीशहरूको संख्याको विवरण उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ ।
यस्तै निर्वाचन अधिकृत नियुक्तिका लागि १५ फागुनभित्रै राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको विवरण उपलब्ध गराउन भनेको छ ।
आयोगले निर्वाचन आर्थिक कार्यविधि तयार गरेर अर्थ मन्त्रालयमा पठाएको छ भने ५३ प्रकारका निर्वाचन सामग्री खरिदका निम्ति स्वीकृति प्रदान गरेको छ ।