प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष दाहाल लागिपरेको बताए ।
शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप लगाए ।
पोखरेलले राजनीतिक पार्टीका नेताहरूले देश र जनताको हितविपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराए । उनले जनताकोबीचमा फट्याई कुरा गर्ने नेताहरूलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरू अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए ।