विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको मोरङ प्रहरीले सोही घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिकाका–६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहम्मद शुभाम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
शुक्रबार मोरङ प्रहरीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न आरोपमा मोरङको जहदा गाउँपालिका–४ शिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलम र सिरहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडाैं बल्खु बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डललाई सार्वजनिक गरेको थियो ।