नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिए ।
‘हामीले प्रधानन्यायाधीश जबरालाई भोलिसम्मको समय दिएका छौँ । यदि भोलि (शुक्रबार) सम्म पनि राजीनामा आएन भने हामी थप आन्दोलनका कार्यक्रम अघि बढाउँछौँ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले न्यायपालिका सुधारका लागि प्रधान्यायाधीश जबरा बाधक बनेकाले उनको बहिर्गमन अनिवार्य भएको बताए । उनले प्रधानन्यायाधीश जबरा बिचौलियका नाइके भएको र उनको बहिर्गमन नभएसम्म न्यायालयमा सुधार नआउने बताए ।
‘प्रधानन्यायाधीश बिचौलियाका नाइके हुन् । बिचौलिया को हुन् भनेर पनि हामीलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘ती बिचौलियाका विषयमा हामीले उनलाई जानकारी गराउँदा पनि रोकेनन् । बिचौलिया नै हाबी छन् र भइरहेका छन् ।’