विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । गठबन्धनमा बहुमत रहेकाले राईकै नेतृत्वमा सरकार बन्ने निश्चित छ ।
प्रदेश प्रमुख शाेमनाथ अधिकारी प्यासीले दिउँसो १ बजेसम्मका लागि सरकार गठनको दाबी प्रस्तुत गर्न समय दिएका छन् । विपक्षी एमालेसँग बहुमत नरहेकाले उसले दाबी गर्ने सम्भावना छैन ।
त्यसैले मंगलबार गठबन्धनको तर्फबाट एकिकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार बन्नेछ । पाँच दलीय गठबन्धनमाआवद्ध प्रत्येक दलबाट एक/एक जनालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा राई छन् ।
यद्यपि समाचार तयार पार्दासम्म मन्त्रीको नाम भने टुंगो लाग्न सकेको छैन । ‘गठबन्धनमाआवद्ध दलबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीमा हामी छौँ’, प्रस्तावित मुख्यमन्त्री राईले भने, ‘अहिले छलफल जारी छ । केही समयभित्रै टुंगिन्छ ।’