भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ ।
विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए । माओवादी केन्द्रले मन्त्रीको अमर्यादित प्रस्तुति भन्दै माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
मन्त्री गुरुङले गत आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि टिप्पणी गरेका थिए । सो दिन मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी दलका नेता जयराम यादवले तत्काल नियमापत्ति जनाएका थिए ।
त्यसयता माओवादी केन्द्रले संसद अवरुद्ध पार्दै आएको छ । १४ र १५ असारमा बैठक अवरुद्ध पारेको माओवादी केन्द्रका सांसदले आइतबार पनि बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए । माओवादी केन्द्रका सांसदहरूले अवरुद्ध पारेपछि सभामुखले बैठक स्थागित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएका छन् ।
आइतबारको बैठकमा विनियोजन विधेयक २०७८-७९ अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।