नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए । माग पूरा नभए सांसदहरूले राजीनामा दिने उनको दाबी छ ।
‘हाम्रो ६ बुँदे मागका सन्दर्भमा सम्बोधनका लागि हामीले चार बजेसम्मको समय दिएका छौँ । कारबाहीभन्दा पनि २०७५ जेठ २ को अवस्थामा पार्टीका कमिटीलाई फर्काउनुपर्ने हाम्रो माग कायमै छ,’ उनले भने ।
२७ वैशाखमा नेता नेपालले अध्यक्ष ओलीलाई ६ बुँदे मागसहित पत्र पठाएका थिए । नेता नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने, नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग गरेका थिए ।
यस्तै पार्टीलाई विधान र पद्धति अनुरुप सञ्चाल गर्नुपर्ने उनको माग थियो । पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोप एवं समस्याबारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने, सरकार र पार्टीबीचमा समन्वय र सु-सम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्नुपर्ने शर्त नेता नेपालको पत्रमा उल्लेख थियो ।
यस्तै उनले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने र समयमै राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने माग प्रस्तुत गरेका थिए ।नेता नेपालका यी माग पूरा गर्ने जिम्मेवारी एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, रावल र घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फुकुवा पनि गरेको छ । गत चैतमा उनीहरूले फरक पार्टीको अभ्यास गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको थियो ।