नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका निजी तथा सरकारी अस्पतालहरूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्न माग गरेका हुन् ।
उनले दलले सरकारी नीतिका कारण संक्रमितहरू अस्पताल नै नपुगेर ज्यान गुमाउन बाध्य भएकाले प्रदेशमा भरपर्दो उपचार व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । कार्कीले सरकारको संवेदनहीनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको भन्दै उपचारका यथोचित प्रबन्ध मिलाउन माग गरे ।
हाल सरकारले प्रदेशका ६ ठूला अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरी ३० बेड मात्र सञ्चालनमा ल्याएको संसदीय दलका प्रमुख सचेतक कार्कीको आरोप छ ।
‘बीपी प्रतिष्ठानलाई सरकारले १ सय ५० बेडको कोरोना अस्पताल भनी झुठो प्रचारबाजी गर्यो’, उनले भने, ‘तर हाल ३० बेड मात्र सञ्चालनमा छ । त्यो पनि भरिएको छ । आम नागरिकले गेटबाटै फर्किनुपर्ने र बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।’
सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना संक्रमणले भयावह रुप लिएको दलका प्रमुख सचेतक कार्कीको भनाइ छ । प्रदेश १ मा १७ वैशाखमा ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर २५ वैशाखमा आइपुग्दा वृद्धि भएर ४९.२३ प्रतिशतमा पुग्नु सरकारका लागि लाजको विषय भएको उनको आरोप छ ।
कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताए । कोरोना महामारी सरकारका लागि पैसा कमाउने मेलो भएको उनको दाबी छ ।