पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमति अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गरिएकाले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।
७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त हुनुपरेको बताएका छन् । ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको अस्था, चाहना र जनभावनालाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न’, पूर्वराजा शाहले भनेका छन् ।
उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र नभई सामाजिक जीवन पद्धति र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्र प्रजातन्त्रको प्राण अटुट रहने बताएका छन् ।
‘राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ, सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ वक्तव्यमा उल्लेख छ ।