गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । संस्थापकहरूका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेलगायतले प्रबन्ध पत्रमा हस्ताक्षर गरेर दर्ता प्रकिया अघि बढाएका हुन् ।
कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिवद्धता आइसकेको एनआएन सचिवालयले जनाएको छ ।
संघका अध्यक्ष पन्तले नेपालका लागि बहुप्रतीक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताएका छन् । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनाइसकेको उनले बताए ।
यस्तै, संस्थापकहरूका तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिवद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।