प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गरेर अदालतप्रतिको उच्च सम्मान प्रकट गरेको बताए ।
अदालत परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले लिखित जवाफ पठाएको भए पनि हुन्थ्यो । तर, प्रधानमन्त्री आफैँ उपस्थित भएर लिखित जवाफ पेस गरेर अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नु भएको छ ।’ प्रधानमन्त्री ओली लिखित जवाफ पेस गर्न बिहीबार बिहान ११ बजेर ४७ मिनेटमा सर्वोच्च पुगेका थिए । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत १५ माघमा प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
प्रधानमन्त्री ओलीले कार्की व्याङ्केटमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र अदालतमा भइरहेको बहसलाई तमासाको संज्ञा दिएपछि अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।