विराटनगर, १४ माघ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) प्रचण्ड समूहका प्रदेश नं १ इन्चार्ज भीम आचार्यले प्रदेश सभामा पेश गरिएका मुख्यमन्त्रीको विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दावी गरे । इन्चार्ज आचार्यले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यहरुसँग छलफल भईरहेको जानकारी दिए ।
उनले अविश्वास प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनबारे छलफल अघि बढ्ने चर्चा गर्दै अहिले सम्पूर्ण ध्यान अविश्वास प्रस्ताव पारित गर्नेमा केन्द्रित रहेको बताए । नेता आचार्यले सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे ।
उनले आगामी माघ १६ गते विराटनगरमा आयोजना गरिन लागिएको विरोध सभा भव्य हुने बताउनु भयो । विरोध सभामा ६० हजार भन्दा वढी जनसहभागिता रहने दावी पूर्व मन्त्री आचार्यले गर्नु भयो । विरोध सभामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्वोधन गर्नु हुने जनाइएको छ ।