सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी व्यापारीलाई जिम्मा लगाउन लागेको आरोप लगाएका छन् ।
सरकारले कृषिमा विदेशी लागनी भित्र्याउन ल्याएको कानुनी तत्काल रोक्नुपर्ने नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । सरकारले नेपालभित्र कृषि पेसा गरेर परिवार पाल्दै आएका कृषकको रोजीरोटी खोस्न विदेशी लगानी भित्र्याउन कानुनी मान्यता दिएको उनको आरोप छ ।
यस्तै, सरकारले नेपाली कृषि व्यवसायीलाई विस्थापित गर्न कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोली दिएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बनाएको कानुन तत्काल फिर्ता नगरे देशव्यापी आन्दोलन गर्न र किसानले उत्पादन गरेका कृषिका सामग्री सरकारलाई जिम्मा लिने उनको भनाइ थियो ।
नेपालमा छिमेकी भारत र चीनका कृषि व्यवसायीले लगानी गर्ने इच्छा देखाउँदै आएका छन् । पशुपन्छीपालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा विदेशी लगानी भित्र्याउन सरकारले कानुनी बाटो खुलाएर नेपाली कृषकलाई मर्कामा पार्न खोजेको व्यवसायीको आरोप छ ।