खोटाङ, २३ पुस-महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।
हिन्दु, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत १६ मंसिरदेखि यही ८ पुससम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २ सय ९० ररुपैयाँ भेटी संकलन भएको हो ।
गत ८ चैतदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत १६ मंसिरमा खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट ३ लाख ३० हजार ५ सय ९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट २९ हजार ६ सय ३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० रुपैयाँ भेटी संकलन भएको छ ।
गत ६ चैतदेखि ८ पुससम्म मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा १ लाख ८९ हजार ९ सय ९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
दर्शनार्थी तथा भक्तजनले भारु ६ सय ५० र अमेरिकन डलर १ रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।
त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष ८७ लाख ६६ हजार २ सय ७४ रुपैयाँ भेटी बापतको रकम सहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।
हलेसीमा अहिले दैनिक सयौँको संख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए । ‘हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ,’ उनले भने, ‘यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।’
अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन् । व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए ।
हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ । रासस