काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको हो ।
भट्टराई निवास टोखामा भएको भेटमा चिनियाँ टोलीसँग विकसित राजीनितक घटनाका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, संसद् पुनर्स्थापना गर्ने सकिने विषयमा पनि छलफल भएको थियो । जसपाका प्रवक्ता विश्वदीप पाण्डे उपमन्त्री गुओ यैचोले अध्यक्ष भट्टराईसँग नेपाल-चीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको पनि बताए । सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा उनले खुसी व्यक्त गरेका थिए ।
उपमन्त्री यैचोले आफूहरू २०२१ मा चीनियाँ कम्युनिस्टी पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताएको प्रवक्ता पाण्डले बताए । यो सन्दर्भमा चीनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरूबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरू नेपाल आएको पनि उनले उल्लेख गरे । हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारे ।
यसअघि चिनियाँ टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेको थियो । खनाल निवास डल्लुमा आज दिउँसो ३ बजे भएको भेटमा झण्डै १ घण्टा कुराकानी भएको थियो । त्यस्तै, उक्त टोलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई समेत भेट गरेको थियो । टोीले आइतबार राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो