एजेन्सी, २ मंसिर-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।
डेलावेयरमा एक सम्बोधनका क्रममा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसको प्रकोप रोक्न समन्वयको आवश्यकतामा जोड दिएका छन् ।
राष्ट्रपति ट्रम्पलाई आफ्नो पराजय स्वीकार गर्न पनि उनले पुनः आग्रह गरेका छन् । बाइडेनले राष्ट्रपति निर्वाचन जित्न आवश्यक २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् ।
तर अझै पनि रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकार गरेका छैनन् । उनले सोमवार बिहान ट्वीट गरेर भनेका छन्, ‘मैले चुनाव जितेँ।’
ट्रम्पको निर्वाचन अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ। राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन ।
उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति निर्वाचित बाइडेनका सहयोगीहरूले ट्रम्पले सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्। आफ्नो मन्तव्यमा बाइडेनले ट्रम्पले हार अस्वीकार गर्नु पूर्ण रुपमा गैरजिम्मेवार भएको बताएका छन् ।
‘कोही यसलाई बुझ्छ ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो । वास्तवमा, यो अतिशयोक्ति होइन,’ उनले भने, ‘यदि हामीले सहकार्य गरेनौं भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले २० जनवरीसम्म पर्खनु पर्यो भने यसले हामीलाई पछि पार्छ।’