विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको हो ।
‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरि लकडाउन गर्ने समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । छ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी रु ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हुँदैन, ‘ विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ महामारीको संक्रमणदर उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच १६ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान तथा ५ असोजदेखि आन्तरिक उडान शुरु भएको थियो ।
सरकारले १ मंसिरदेखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै सङ्घले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन सुरु भइसकेको जनाएको छ ।
मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन पनि संघले माग गरेको छ । बन्दाबन्दीका बीचमा समेत संक्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै संघले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् ।