एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।
गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।
यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३ सय ३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।
शनिबार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ । रासस