विराटनगर, ७ असोज–प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक÷एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको छ ।
प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा ६ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ ।
तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ । बुधबार सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकावीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदान प्रदान गरे ।
सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षाकोठामा मात्र सिमित नराखी सूचना प्रविधिको उपयोग गरि शिक्षा दिन आवस्यक रहेकोमा जोड दिए । मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ । बिहिबार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने मन्त्रालयले जनाएको छ ।