विराटनगर, २२ भदौ-खुकुलो प्रावधानसहित मोरङमा थप ६ दिन निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
भदौ ५ गतेबाट यसअघि ३ पटक थप हुँदै जारी निषेधाज्ञा सोमबार रातिबाट सकिने भएकोले थप ६ दिन त्यसको अबधि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
निषेधाज्ञा थप भएको भनिएपनि सो अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, गुद्री, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खुल्ने भएको छ ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।