स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम ललितपुर महानगरपालिकाभित्र यही २६ भदौसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उनले जानकारी दिए । उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।
मुख्यगरी रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मदन स्मारक स्कूल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर्स स्कूल अगाडिको चोक, उत्तर बखुण्डोल चोक क्षेत्रभित्र उक्त आदेश लागू हुनेछ ।
यस्तै श्रीमीननाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मङ्गलबजार चोक, पश्चिम मदन स्मारक स्कूल अगाडिको चोक, दक्षिण पूर्वचण्डि मन्दिर, उत्तर पिमबहाल क्षेत्रभित्र लागू हुने गरी उक्त आदेश जारी गरिएको छ । उक्त आदेश बिहान ५ देखि राति १० बजेसम्म लागू हुनेछ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।
उनका अनुसार सूचना सङ्कलन तथा घुमुवा टोलीसमेत परिचालन गरिएको छ । सादा पोशाकमा पनि प्रहरी टोली खटाइएको छ । ठाउँठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् ।
स्थानीयवासीबाट समेत राम्रो साथ पाइएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम जारी रहेको उनले बताए । ललितपुरमा केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले १९ भदौसम्म कफ्र्यू आदेश जारी गरेको थियो । रोकिएकोे रथ तान्ने कार्यक्रम आजदेखि सुरु भएको छ ।रासस