सरकारले गर्ने काम आश्रमले गरेकामा उनले खुलेर प्रशंसा गरे । प्रधानमन्त्री ओलीले सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले गर्ने काम तपाइहरूले गरिरहनुभएको छ, यसप्रति जति कृतज्ञता प्रकट गरे पनि कम हुन्छ,’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सहयोग गरेको नभई सरकारको भाव नै तपाईँहरूले धानिरहनु भएको छ, उक्त अभियानका लागि क्रमशः सरकारले योगदान बढाउँदै जानेछ ।’
आश्रमले २०८२ सम्म सडकमानवरहित मुलुक बनाउने लक्ष्य लिएको छ । सरकारले भने विसं २०७८ सम्म सडक बालबालिका, सडकमानव र भीख माग्नेरहित देश बनाउने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी गराए । ‘यो असम्भव कुरा होइन र थिएन तर कोभिड-१९ कसरी जान्छ भन्ने कुराले भर पर्ने अवस्था छ, तर लक्ष्य प्राप्त हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
१ करोड सहयोग घोषणा
उक्त समारोहमा प्रधानमन्त्री ओलीले आश्रमको सेवा कार्यका लािग स्थापना भएको अक्षय कोषमा सरकारका तर्फबाट १ करोड थप्ने घोषणा गरे । आश्रममा अक्षयकोष निर्माणदेखि मासिक प्रतिव्यक्ति ३ हजार दिएर उत्साहित गर्ने काम सरकारले विगतमा पनि गरेको उहाँले स्मरण गरे । उक्त कोषमा सहयोग पुर्याउन उनले विभिन्न संस्था र व्यक्तिलाई अनुरोधसमेत गरे ।
भर्चुअल रुपमा मनाइएको आठौँ बार्षिकोत्सव समारोमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेशमन्त्री, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका नेता, कलाकार, सामाजिक क्षेत्रका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो ।