प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो कोरोनाविरुद्धको लडाईं त्यति छिटो सफल हुने बताए ।
‘कोभिड–१९ को विश्वब्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाईं जित्न त्यति सजिलो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने । उनले यस्ता राष्ट्रिय संकट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति बढेकाले यस्तो प्रवृत्ति त्याग्नु पर्ने बताए ।
‘यस्तो संकट र महामारीलाई पनि विरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बढेको छ, यसलाई बदल्नु पर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध, सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको बताए ।
‘हाम्रो कार्यान्वयन एकदमै कमजोर भएको होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौं,’ उनले भने, ‘हामीले महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशहरुको तुलनामा सफलता हासिल गरेका छौं ।’
उनले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिने बताउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको पनि विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनु पर्ने बताए ।
‘जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्न सकिन्छ, तर जे ग¥यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन’ ओलीले भने, ‘विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ । भर्खर गाउँ गाउँमा निकासा दिएको रकमको हिसाब खै भन्ने शैलीको विरोध हुन्छ ।’ प्रधानमन्त्री ओलीले असल कामको समर्थन र गलत कामको विरोध गरे विरोधको पनि नैतिक हैसियत रहने बताए ।
‘विरोध भयो खराब काम गरिएछ कि भन्ने अवस्था नै रहेन, सरकारले गरेको भनेपछि जस्तो भए पनि विरोध गर्नु कर्तव्य हो भनेजस्तो भयो,’ प्रधानमन्त्रीले भने, ‘असल कामको समर्थन र खराव कामको विरोध गरे, विरोधको पनि नैतिक हैसियत हुन्थ्यो । यहाँ त जे ग¥यो त्यसको विरोध, कसैले राम्रो भयो भने त्यसलाई पनि खेद्ने काम हुन्छ ।’