प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै आज पनि निष्कर्ष भने निस्कन सकेन । छलफललाई निरन्तर अगाडि बढाउने विषयमा २ अध्यक्षबीच सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक संकटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो । ओली प्रचण्डबीचको छलफलमा पार्टी महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभावकर’ पनि सहभागी थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
यस्तै, अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभावकर’ सँग अध्यक्ष दाहालले कुराकानी गरेका थिए ।