काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका हुन् । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए ।
लकडाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहीन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे ।
मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरकलगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भए तापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ । मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । आफ्ना मागहरू पूरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ ।