बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको सामूहिक हत्या भएको थियो ।
प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै अर्थचेत भएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउपछि सिंजालीले आफूले नै पाँचैजनाको हत्या गरेको स्वीकार गरेका थिए ।
प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने गरेको आवेगमा हत्या गरेको बताएका थिए । सिञ्जालीविरुद्ध जिल्लाअदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । सोही मुद्दामाथि भएको बहसपछि जिल्ला अदालत रुपन्देहीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतका सूचना अधिकारी गंगा अधिकारीले आइतबार भएको बहसपछि जिल्ला न्यायाशीस मात्रिकाप्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए ।
सिंजालीले भैंसी फर्ममा काम गर्ने रुपन्देहीकै सैनामैना नगरपालिका-५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशीष चौधरीको सामूहिक हत्या गरेका थिए । आदेशपछि अभियुक्तलाई आइतबार नै जिल्ला कारागार भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।