काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् ।
आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति बैठक स्थगित गरेर ओली–प्रचण्डबीच बालुवाटारमा पुनः छलफल सुरु भएको हो ।
आइतवार ओलीसहित उनी पक्षधर महासचिव बिष्णु पौडेल र शंकर पोखरेल तथा कार्यकारी अध्यक्ष प्रचण्डसहित उनी पक्षधर वर्षमान पुन र जनार्दन शर्मासहित सामूहिक छलफल गरेर ‘सहमति नजिक पुगे’ भनिएपछि पुनः दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी राखिएको हो ।
पार्टी एकताताका अध्यक्ष ओली र प्रचण्डबीचको सहमतिले दुई अध्यक्ष सहमत भएर हस्ताक्षर गरेपछि मात्रै आधिकारिकता पाउने भनिएकाले पनि दुई जना मात्रै बसेका हुन् ।
ओली र प्रचण्ड बिच सहमति भए पछि मात्रै स्थायी समिति बैठकमा अजेन्डा लैजाने प्रयास स्वरुप ओली– दाहाल छलफलमा जुटेका हुन् । गत शुक्रवार पनि ओली–दाहालसहित २०७५ जेठ ३ का सहमतिका साक्षी महासचिव पौडेल र स्थायी समिति सदस्य शर्मा बसेर पहिलो चरणमा छलफल चलेको थियो ।
सो छलफलको परिणामस्वरुप शनिवार बोलाईएको स्थायी समिति स्थगित गरी आज सोमवारका लागि बोलाईएको र सहमति नजुटे पछि पुनः २ दिनका लागि बैठक स्थगित गरेर प्रचण्ड–ओली वार्तामा बसेका हुन् ।