अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

 न्यूज विराट
अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

काठमाडौं, ५ असार-पश्चिम नेपालको भारतीय अतिक्रमणमा परेको भूभाग मुलुकको राष्ट्रिय निशान छापमा समेटिएपछि महोत्तरीमा उत्साह देखिएको छ । मुलुकको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले राष्ट्रको निशानछाप सच्याउन संविधान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतिक दल र बुद्धिजीवीले बताएका छन् ।

गत ३१ जेठ मा प्रतिनिधिसभाले आफ्नो अतिक्रमित भूभाग समेटेर नयाँ निशान छाप संविधानको अनुसूचीमा समावेश गर्न संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै बिहीबार राष्ट्रियसभाले सो प्रस्ताव सर्वसम्मत पारित गरेसँगै सभामुखले प्रमाणीकरण गरेका संशोधित संविधान राष्ट्रपतिबाट सदर (स्वीकृत) गरिएसँगै कालापानी, लिपुलेक र लिम्पियाधुरा निशानछापमा समेटिएपछि  यो घटना राष्ट्रिय एकताको अभूतपूर्व सन्देश बनेको महोत्तरीमा आम प्रतिकृया पाइएको हो ।

‘संविधानमा मधेशका मुद्दा सम्बोधन हुन बाँकी रहेका हाम्रा कुरा छँदैछन्’, विगतदेखि नै मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनको माग राख्दै आएको समाजवादी पार्टी नेपाल (हाल, जनता समाजवादी पार्टी नेपाल) का जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवले भने, ‘तर, राष्ट्रको भूगोल कतै थिचोमिचोमा परेको विषयमा भने असहमति थाति राखिँदै अहिले राष्ट्र नै एक भएको सन्देश प्रवाह भएको छ ।’

प्रतिनिधिसभामा निशानछाप सच्याउन देखिएको एकताले अब मधेशका विषय संविधानमा समेट्न पनि यस्तै एकताको आवश्यकता औँल्याएको यादवको थप भनाइ छ । अब निशानछापमा समेटिएका अतिक्रमित भूभागमा स्वामित्व स्थापित गर्न सरकारले निर्णायक वार्ता गर्नपर्ने यादवले बताए ।

मधेशी जनअधिकार फोरम हुँदै सङ्घीय समाजवादी पार्टी, समाजवादी पार्टी र हाल जनता समाजवादी पार्टी बने पनि आफूहरुले संविधानमा मधेशका मुद्दा समावेश गरिन बाँकी रहेको कुरा उठाउँदै आइएको सो पार्टीका कार्यकर्ता बताउँछन् । तर, मुलुककै भौगोलिक हिस्सा अतिक्रमणमा परेको र त्यसको खोजी संवैधानिक तवरले गर्न आवश्यक भएका बेला पुराना असहमति सबै थाति राखेर सम्पूर्ण राष्ट्र एक ढिक्का हुन दलहरुले सुझबुझ देखाएको जिल्लाकै सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउँछन् ।

यसअघि राजपा नेपाल (हाल, जसपा नेपाल) आबद्ध अगुवा नेता र भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह पनि सङ्घीय संसद्मा मुलुकको राष्ट्रिय स्वार्थका कुरामा सबै एक ढिक्का देखिएपछि भारतसँगको वार्तामा सरकार मजबुतीका साथ प्रस्तुत हुने बलियो आधार बनेको बताउँछन् । नेपालको संसद्मा दलहरुबीच राष्ट्रिय मुद्दामा यो ऐतिहासिक एकता बनेको जिल्लामा अन्य राजनीतिक दलका प्रतिनिधि बताउँछन् ।

मुलुकको नक्सामा भारतले अतिक्रमण गरेको भूभाग समेटिनु र निशानछाप सोअनुकूल बनाउन दलहरूबीच संविधान संशोधनमा देखिएको एकबद्धताले विश्वजगतमै अत्यन्त सकारात्मक सन्देश दिएको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव सौखीलाल यादवले वर्तमान सरकारले अतिक्रमित भू–भाग समेटेर नक्सा जारी गर्नसँगै यस प्रयोजनको संविधान संशोधनमा दलहरुबीच अभूतपूर्व एकता निर्माणमा पाएको सफलता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

यो भारतसँग गरिने÷हुने वार्तामा सरकारका लागि ताकत भएको यादवको थप भनाइ छ । राजनीतिक दलसँगै जिल्लाका प्रबुद्ध बुद्धिजीवी पनि सङ्घीय संसद्मा देखिएको अभूतपूर्व एकताले राष्ट्रको सवालमा दलहरु विभाजित हुन्नन्, छैनन् भन्ने पुष्टि गरेको छ ।

‘नक्सा र निशानछापमा अब अतिक्रमित भूभाग समेटियो, अब स्वामित्वमा समेटिने आश जाग्यो’, जिल्लाका ख्यातिप्राप्त कानुन व्यवसायी अधिवक्ता उद्धव क्षत्रीले भने, ‘अब राष्ट्रिय एकताको यो ताकत लिएर भारतलाई वार्ताका लागि तयार पार्न निर्णायक कूटनीतिक पहलकदमी सरकारले बढाउनुपर्छ ।’

बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवास-१४ का प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरी अतिक्रमित क्षेत्र औपचारिक नक्सामा राख्न र त्यसलाई निशानछापमा समावेश गर्न संविधान संशोधनमा संसद् एक ढिक्का भएको घटना गौरवपूर्ण र ऐतिहासिक भएको बताउँछन् ।

नेपालको सङ्घीय संसद्मा देखिएको यो ऐेतिहासिक एकताबारे विश्वका कयौँ मुलुकका आफ्ना साथीहरूले चासो देखाएका ठकुरीको भनाइ छ । ‘तिमीकहाँ त गजब भएछ त, संसद् नै एकमत..!’ आफूलाई विश्वका कयौँ देशका साथीले दिएको प्रतिक्रिया सुनाउँदै ठकुरीले भने, ‘अब संविधान संशोधन गरेर निशानछाप र नक्सामा समेटिएको अतिक्रमित भूभाग स्वामित्वमा लिन यो एकता टिकाइ राख्न सक्नुपर्छ ।’

सङ्घीय संसद्मा बनेको एकताले अहिले दलहरुबीच एकअर्कोप्रति हुँदै आएका आलोचनात्मक टिप्पणी पातलिएका बुद्धिजीवीको ठहर छ । ‘सानातिना कुरामा पनि दलहरुबीच खुबै घोचपेचका कुरा सुनिन्थ्यो’, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश पाउनुभएका भङ्गाहा-७ मेघरोलका ७० वर्षीय चन्द्रनारायण सिंहले भने, ‘सङ्घीय संसद्मा निशानछापका लागि भएको संविधान संशोधनमा देखिएको एकमतले दलहरूबीचको कटुता घटाएको देखिन्छ ।’ मुख्यपक्ष यो एकता टिकाइ राख्न सरकारको पहलकदमी सकारात्मक हुनपर्ने सिंह बताउँछन् ।

पछिल्लो यो घटनाबारे जिल्लाका ग्रामीण बस्तीका सर्वसाधारणमा पनि सकारात्मक चासो जागेको पाइएको छ । राजनीतिक गतिविधि र घटनाबारे खासै चासो नराख्ने सर्वसाधारणले यसबारे सोधखोज गर्न लागेका पाइएको छ । ‘साँच्ची, अब त भारतले मिचेको हाम्रो ठाउँ फर्किने भयो रे नि त १ सबै नेताले एकमुखले यस्तो भनेको सुनिन्छ के हो ?’ जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका ७५ वर्षीय किसान इस्लाम कवारीले थप जिज्ञासा राख्दै भने, ‘यसैगरी सबै एक भए त हाम्रा सुखका दिन पनि आउँलान नि !’ अहिले संसद्मा देखिएको एकता नटुटे आफ्ना आवश्यकताका कुराले पनि महत्व पाउने सर्वसाधारणले आस पालेका छन् ।

मुलुकको राष्ट्रिय स्वार्थमा सबै एकढिक्का हुनसक्छन् भन्ने सन्देश संसद्बाट प्रवाह हुँदा दलहरूबारे सधैँ हुँदै आएको ‘यिनले के गर्लान् र ?’ भन्ने टिप्पणी पातलिएको यहाँका युवा सामाजिक कार्यकर्ता बताउँछन् । दलहरूले संसद्मा देखाएका एकता आमजनताको जीवनस्तर सुधारका काममा कायम राख्न सके मुलुकको विकास र समृद्धि यात्राले राम्रो गति लिने बर्दिवास-१४ का सामाजिक कार्यकर्ता परमेश्वर महतोको विश्वास छ । ‘संसद्मा अहिले देखिएको एकताले दलहरूको साख पनि बढाएको छ’, महतोले भने, ‘अब जनतामा बढेको निरासा चिर्न पनि दलहरूले यस्तै सुझबुझ देखाउनपर्छ ।’ रासस 

सम्बन्धित समाचार

मोरङको मुनालझोडामा मृत भेटिए हात्ती, गोली हानेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडामा एउटा हात्ती मृत भेटिएका छन् । आज विहान हात्ती मृत अवस्थामा भेटिएको हो । मृत भेटिएको भाले हात्ती रहेको सव डिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लाल...

सेनाले ल्यायो चीनबाट १० ट्रक सामान

काठमाडौं, ३ जेठ-नेपाली सेनाले चीनबाट १० ट्रक स्वास्थ्य सामान ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर शनिबार काठमाडौंतर्फ हिँडेको भन्सार विभागले जनाएको छ । सेनाले डिस्पोजेबल गाउन र पीपीई रहेका छन् । भन्सार...

भर्चुअल प्रणालीबाट नयाँ शैक्षिकसत्र सुरु गरिने

काठमाडौं, १२ जेठ-सरकारले भर्चुअल माध्यमबाट पनि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासकाे माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज २ बजे , सानो मन्त्रिमण्डल गठन गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दुई बजे शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइनेछ। आइतबार...

रूकुम घटनाबारे प्रतिनिधिसभामा आरोप-प्रत्यारोप

काठमाडौं, १३ जेठ-सांसदले रूकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा...

कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्