रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरको छन् ।
‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड-१९ समुदायमा फैलिएको छैन । आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ’, मुख्यमन्त्रीले भनेका छन् ।
मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ ।’ रासस