काठमाडौं,२१ जेठ-सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने भएको छ ।
बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना तथा ठूला उद्योग पसल खुला गरिने जनाएको हो । ७१ दिनदेखि जारी लकडाउनका कारण उद्योग/व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर/किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न संकट परेको बताएका व्यवसायीले अब लकडाउन पालन गर्न नसक्ने बताएका हुन् ।
महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर, लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । त्यसैले भोलिबाट व्यापार व्यवसाय सूचारू गछौँ।’
नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी/व्यवसायीहरूको रोजिरोटी गुम्ने महासंघले जनाएको छ । व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गरि मापदण्ड पालना गर्ने विज्ञप्तीमा उल्लेख छ ।
व्यवसायीले पसल व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमाा कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलब/भत्ताको जिम्मासमेत सरकारले लिनुपर्ने माग समेत राखेका छन् ।