काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको कर विवरण एवं रकम बुझाउने आज २० गते प्रकाशित सूचनाप्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड-१९ को प्रकोपका कारण विगत ७१ दिनदेखि मुलुक लकडाउनमा भएकोले समग्र आर्थिक एवं व्यावसायिक कारोबार ठप्प अवस्थामा रहेको छ ।’
चेम्बरले तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको ब्याज किस्ता बुझाउन पनि समस्या परेको जनाएको छ । चेम्बरले व्यावसायिक गतिविधि सूचारु भएको ३ महिनापछि मात्रै कर तिर्ने समय राख्न माग गरेको छ ।
‘यस्तो कठिन अवस्थामा व्यावसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरू तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी हुनु आफैँमा बिडम्वना पूर्ण रहेको छ’ विज्ञप्तिमा भनिएको छ ‘लकडाउन समाप्त भई व्यावसायिक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवं रकम बुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ ।’