काठमाडौं, १६ जेठ-कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वयन समितिले विदेशमा रहेक नेपालीलाई चरणवद्ध रूपमा फिर्ता ल्याउनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याएका नेपालीलाई राख्नका लागि अध्ययन गरिरहेको अवस्थामा चरणवद्ध रूपमा नेपालीलाई ल्याउन सरकारलाई सुझाव दिएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरोकारवाला निकायहरूले पटकपटक विदेशमा आपतविपतमा परेका नेपालीलाई ल्याउन र व्यवस्थिति गरी राख्नका लागि सरकारलाई दबाब दिएका थिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपिरषदको कार्यालयमा बसेको समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि दैनिक ३ हजारका दरले फर्काउन सकिने निष्कर्ष निकालेको छ ।
नेपाल फर्किन चाहने नेपालीले हवाई भाडा र आवश्यक अन्य खर्चहरू भने आफैँ व्यहोर्नु पर्ने छ । विदेशबाट नेपाल फर्काइएकालाई होटलमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । सरकारले समस्यामा परेकालाई आफ्नो विवरण भर्नका लागि आग्रह गरेको छ । सरकारले सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरूको उद्धार गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण विडारीले बताए ।
गत महिना श्रम मन्त्रालयले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाखलाई तत्काल उद्धारको आवश्यकता रहेको औँल्याएको थियो । त्यसबाहेक भारत र अन्य देशका कूटनीतिक निकायलमा रहेका नेपालीलाई पनि ल्याउनु पर्ने हुँदा ६ लाख बढीको उद्धार गर्नुपर्ने हुन सक्ने परराष्ट्र मन्त्रालयको आंकलन छ ।