काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् ।
ती २२ संघसंस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोतीका वडाअध्यक्षसहितले मृतक नवराज विकको प्रेमिकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको भनिएको घटनामा नवराज विकसहित ५ को मृत्यु भएको र एक अझै पनि बेपत्ता रहेको मानवताविरोधी अपराधजन्य घटनाप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।’
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य ५ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा १ युवक अझै बेपत्ता छन् ।
निष्पक्षरूपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानुनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभन्नि राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला संघसंस्थाले समेत आवाज उठाउँदै आएका छन् । ती संघसंस्थाले रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानुनी दायाराभित्र ल्याइ कारवाहीका लागि नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन् । रासस