एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका छन् । यो इतिहासको पाङ्ग्रालाई घुमाउने खतरनाक कोशिस हो ।’
उनले अमेरिकालाई परिवर्तन गर्ने कुनै उद्देश्य नरहेको भन्दै उनले अमेरिकाले पनि विकासको आफ्नो बाटोमा रहेको चीनलाई कुनै हालतमा परिवर्तन गर्न नसक्ने बताए ।
विदेशमन्त्री वांग यीले चीन र अमेरिकाको राजनीतिक व्यवस्था अलग रहेको भन्दै यो दुई देशका जनताको अलग चाहाना भएको बताए । उनले भने, ‘अमेरिका आफ्नो बाटोबाट पछि हटिरहेको छ । यसको अर्थ सहयोगको कुनै सम्भावना छैन भन्ने होइन । दुवै पक्षबीच संसारका केही ठूलो मुद्दामा सल्लाहको आवश्यकता छ ।’
उनले अमेरिका र चीनबीच एकअर्कामा सहयोगको परम्परा रहेको भन्दै कोरोना संकटको समयमा पनि यस्तो भएको बताए । उनले भने, ‘कोभिड‘कोभिड–१९ सुरु भएको समयमा हामीले एकअर्कालाई मेडिकल सामग्री सहयोग गरेका छौं । चीनले १२ अर्बभन्दा बढी मास्क अमेरिका पठाएको छ । तर अफसोसको कुरा अमेरिकामा राजनीतिको भाइरल फैलिरहेको छ ।’
उनले चीन र रुस मिलेर यो राजनीतिक भाइरलका विरुद्ध अभेद्य किल्ला बनाएको भन्दै उनले आफूहरुले रणनीतिक तालमेलको शक्ति प्रदर्शन गरेको बताए ।
उनले भने, ‘रुस र चीनले कोभिड–१९ को क्रममा एक अर्कालाई सहयोग गरेका छन् । जबसम्म हामी एक अर्को मिलेर काम गर्दछौं तबसम्म संसारको विविधताको रक्षा गर्नेछौं, शान्ति र न्यायको रक्षा गर्नेछौं ।’