काठमाडौं, ३ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा निधन भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले महिलाको स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै उनकाे निधन भएको बताए ।
‘सिन्धुपाल्चोक निवासी ती महिला जो २३ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको थियो । २४ वैशाखमा नर्मल डेलिभरी भएर २५ वैशाखमा डिस्चार्ज भई घर जानुभएको थियो,’ उनले भने, ‘ज्वरो, श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएको र उहाँको स्थिति जटिल भएपछि धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको खबर आएको छ । यस सम्बन्धमा थप विस्तृत विवरण लिइरहेका छौँ ।’
उनले महिलाको कोभिड-१९ सम्बन्धी परीक्षण भइरहेको समेत जानकारी दिँदै थप विवरण प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ बाट मृत्यु भएको हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसार गरिने बताए ।
‘कोभिड-१९ सम्बन्धी परीक्षण भइरहेको छ । सम्पूर्ण विवरण प्राप्त भएपछि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ सँगको मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसार गराइनेछ,’ उनले भने ।