बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र ७ दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।
जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।
यस्तै, नेपाल–भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।