राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे ।
डाक्नेश्वरी नगरपालिकाका–३ का वडाध्यक्ष प्रदीप साहका अनुसार ती युवा चितवनमा काम गर्थे । लकडाउन भएपछि उनीसँगै करिब १५ देखि १७ जनाको समूहमा पैदल हिँडेर राजमार्ग हुँदै सप्तरी आएका थिए । उनी सप्तरी आएको २० दिन भएको थियो ।
‘नगरपालिकामा आउनेबित्तिकै ती सबै युवालाई डाक्नेश्वरी नगरपालिकाको एउटा विद्यालयमा संचालित क्वारेनटाइनमा राखेका थियौं,’ साहले भने, ‘त्यसपछि सबै जनाको आरडीटी टेस्ट गरेका थियौं ।’ टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । साह भन्छन्, ‘तर, पनि हामीले क्वारेनटाइनमा बसेका ६ जनाको स्वाब संकलन समेत गराएका थियौं ।’
साहले थपे, ‘तर रिपोर्ट आउन समय लागेको कारण आईतबार ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो । उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरूसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन् ।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए । सोमबार अपराह्न उनी प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण अस्पताल राजविराज लैजाने तयारी भइरहेको छ । उनका परिवारका सदस्यहरूलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।